यताउता चारैतिर पाउँछु तिमीलाई
चोखो माया सधैभरी लाउँछु तिमीलाई
विश्वास र जीवनको आधार तिमी नै हौ
हृदयको पानाभित्र सजाउँछु तिमीलाई
भन्ने कुरा धेरै थिए मिल्या छैन समय
भेट हुँदा भावनाहरु सुनाउँछु तिमीलाई
एकान्तमा एक्लै बसी तिम्रै गीत गाउँछु
फुर्सद भए भेट्न आऊ नचाउँछु तिमीलाई
सुख-दुःख साथ दिने कसम छ मेरो
आपद्-विपद् सम्झाउँछु तिमीलाई
हिजोआज तिमीलाई नभेटेको धेरैभयो
जुनतारा आकाशमा नदेखेको धेरैभयो
आजभोली हालचाल फोनबाटै थाहा हुने
चिठीपत्र तिमीलाई नलेखेको धेरैभयो
भेटहुँदा घरीघरी तिम्रो चित्र कोर्ने गर्थे
माया गर्दै अंगालोमा नबेरेको धेरैभयो
निकालौंला मिठो धुन, तिमी गीत गुन्गुनाउ
मैले पनि सारंगी यो नेरेटेको धेरैभयो
घुम्न जाऊ तेह्रथूम, भेडेटार हिले हुँदै
रमणीय दृश्यहरू नहेरेको धेरैभयो
पोहोरको दशैमा’नी लिपपोत गरिएन
घरपाली कमेराले नछेपेको धेरैभयो
हिमालझैँ, चुलिएर, नभ छुन पाए हुन्थ्यो
एकान्तमा एक्लै बसी रुन पाए हुन्थ्यो
दुःख पीडा जीवनमा भोग्न जति भोगिसके
तनावबाट आफुलाई उठाउन पाए हुन्थ्यो
अँध्यारो छ चारैतिर, विश्वासको दियो निभी
जन्मोत्सवको उपहारमा जून पाए हुन्थ्यो
हाँसो खुशी बिर्सिसके, कल्पनामै सीमित
गुमिसकेका ती उमंगहरू पुनः पाए हुन्थ्यो
तिरस्कार छ ‘निश्चल’ लाई, छैन आफ्नोपन
माया पाउन सबैबाट शिशु हुन पाए हुन्थ्यो